विश्व/प्रवास

कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढ्दो

coronavirus in germany

७ पुस, काठमाडौं । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ अझ बढी संक्रामक रुप सम्बन्धी अन्तर्राष्ट्रिय चिन्ता बढेसँगै थुप्रै मुलुकहरुले यतिबेला बेलायतबाट हुने उडानलगायत यात्रामाथि प्रतिबन्ध लगाएका छन् ।

युरोपेली युनियनले संयुक्त नीति लागू गर्ने कुरा चलाइरहँदा ४० भन्दा धेरै राष्ट्रहरुले बेलायती आगमनलाई निषेध गरिसकेका छन् । डेनमार्कमा पनि त्यस्तै नयाँ भाइरस फेला परेपछि स्वीडेनले त्यहाँबाट हुने यात्रामाथि समेत प्रतिबन्ध लगाएको हो ।

यो नयाँ रुपान्तरित भाइरस पहिलेभन्दा बढी संक्रामक भएको बताइएको छ तर खतरनाक हुन सक्ने चाहिँ कुनै प्रमाण छैन । यसबीच विश्व स्वास्थ्य संगठनले यो विषयबारे बुझ्न बेलायतसँग नजिकी सम्पर्क राखिरहेको जनाएको छ ।

डब्लूएचओका इमरजेन्सी प्रमुख, माइक रायनका अनुसार भाइरसको यो नयाँ रुप महामारी विकसित हुँदै जानुको हिस्सा हो र यो नियन्त्रण बाहिर गइसकेको छैन । तर अर्कोतर्फ आइतबार मात्र बेलायतका स्वास्थ्य सचिव म्याट हेनककले चाहिँ यो नयाँ भाइरस अनियन्त्रित अवस्थामा पुग्न लागेको बताएका थिए ।

यसबाहेक उता अफ्रिकामा केही देशहरुले यात्रा प्रतिबन्ध लगाएका छन् । त्यहाँ  पनि अर्को नयाँ रुपान्तरित भाइरस फेला परेको खबर गरिएको छ तर यसको बेलायतसँग भने कुनै सम्बन्ध छैन ।

के भइरहेको छ युरोपमा ?

युरोपभर अधिकांश मुलुकहरुले अहिले यो बढी संक्रमक नयाँ किसिमको भाइरसलाई फैलनबाट रोक्न बेलायतबाट हुने उडानलगायत सबै यात्रामा प्रतिबन्ध लगाइसकेका छन् ।

फ्रान्सले यसअघि विमानका साथै पानी जहाजको आवत्जावत्लाई पनि निषेध गरेको हो । यस्तोमा प्रधानमन्त्री बोरीस जन्सनले व्यापारीक क्रियाकलाप राख्न फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनसँग छलफल गरिरहेको बताएका हुन् ।

भारत, इरानदेखि क्यानडासम्मले अहिले बेलायतबाट हुने यात्रा निषेध गरेका छन् । अमेरिकाले अहिलेसम्म यसमा कुनै प्रतिक्रिया जनाएको छैन तर दुुईवटा एयरलाइन्स, ब्रिटिश एयरवेज र डेल्टाले कोरोनाभाइरसको परीक्षण नेगेटिभ देखाएपछि मात्र यात्रुलाई विमानमा सवार हुन अनुमति दिने बताएका छन् ।

साउदी अरेबीया, कुवेत र ओमानले त सबै अन्तर्राष्ट्रिय यात्रुहरुका लागि देशका सिमाना पूर्ण बन्द गराइसकेका छन् ।  डेनमार्कका साथै नयाँ रुपान्तरित भाइरस अष्ट्रेलिया, इटली र नेदरल्यान्ड्समा पनि फेला परेको थियो । बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस