खेलकुद समाचार

खेलाडी प्रतिभा पुरस्कारबाट सात खेलाडी पुरस्कृत

khel

७ पुस, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले सात जनालार्ई ‘खेलाडी प्रतिभा पुरस्कार’ बाट मंगलबार नगदसहित सम्मान गरेको छ । सम्मानित खेलाडीमध्ये ६ जना १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् । कार्यक्रममा दुईजना प्रशिक्षक, एकजना निर्णायक, एकजना चिकित्सक र एउटा खेल संघलाई पनि सम्मान गरिएको छ ।

शारीरिक सुगठनका समिर श्रेष्ठ, भारोत्तोलनका विकास थापा र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ समान ६६ हजार ६ सय ६६ रुपैयाँ नगदसहित सम्मानित भए । समिरले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा रजत तथा नेपालमा भएको १३ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । विकासले ८९ केजी तथा सन्तोषीले १० हजार मिटर दौडमा सागमा स्वर्ण जितेका थिए ।

त्यस्तै, गल्फका सुवास तामाङ, साइक्लिङकी लक्ष्मी मगर, करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य १–१ लाख नगदसहित सम्मानित भएका छन् । यी सबै खेलाडीले नेपाललाई सागमा स्वर्ण दिलाएका थिए ।

सम्मानित प्रशिक्षक

प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठ र तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ पुरस्कृत भएका छन् । दुवै १३ सागमा प्रशिक्षकको भूमिका थिए । १३ औं सागमा करातेले १० स्वर्ण, ४ रजत ५ कांस्य तथा तेक्वान्दोले १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको थियो ।

दुवैलाई समान ५०–५० हजार नगद प्रदान गरियो । निर्णायकमा जुडोका धर्मकुमार श्रेष्ठ, चिकित्सकमा डा.ज्ञानेन्द्रविक्रम शाह र राष्ट्रिय खेल संघमा नेपाल गल्फ संघका खेलाडी सम्मानित भए । तीनैलाई समान १–१ लाख नगद दिइयो ।

त्यसैगरी कतार एयरवेज र काठमाडौं महानगरपालिकालाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको छ । कतार एयरवेजले शहिद स्मारिक ए डिभिजन फुटबल लिगमा प्रायोजन गरेको थियो । काठमाडौं महानगरले महानगरभित्रका ए डिभिजन फुटबल क्लबका साथै एन्फाले आयोजना गरेको विद्यालय फुटबल प्रतियोगितालाई आर्थिक सहयोग प्रदान गरेको थियो ।

खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस