८ पुस, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भेटाघाट गरेका छन् । उनीहरुबीच करिब १ घन्टा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । पूर्वमाओवादी समूहका बादलले नेकपा विभाजनपछि आफू कुन समूहमा जानेबारे अहिलेसम्म निर्णय गर्न सकेका छैनन् । सोही विषयमा निर्णय गर्न बादलले प्रधानमन्त्रीलाई भेटेको हुनसक्ने स्रोतको दावी छ ।
यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापालाई पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेर भेटेका थिए । प्रचण्डले थापालाई आफ्नो पक्षमा लाग्न दबाब दिइएको जनाइएको छ । तर मंगलबार भएको प्रचण्ड नेपाल समूहको स्थायी कमिटी र केन्द्रीय समिति बैठकमा भने सहभागी भएनन् । मंगलबार बादल र उपाध्यक्ष वामदेवबीच छलफल भएको थियो। गौतमसँग छलफल गर्न बादल भैंसेपाटी गएका थिए । गौतमले पनि अब कुन समूहमा जाने भन्ने बारे स्पष्ट छैनन् ।
प्रचण्ड–माधव नेपाल समूहले केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष घोषणा गरेको छ भने ओली समूहले २०७८ मंसिरमा महाधिवेशनको मिति तोकेको छ ।