
८ पुस, काठमाडौं । नेकपाको आधिकारिकता दाबी गर्दै प्रचण्ड र माधव नेपाल पक्ष बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा पुगेको छ । मंगलवार प्रचण्ड–नेपाल पक्षका केन्द्रीय समिति सदस्यको बैठकले गरेको निर्णयबारे जानकारी गराउन उनीहरू आयोग पुगेका हुन् ।
स्थायी कमिटी सदस्य लीलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे सहितका नेताहरू केन्द्रीय कमिटीको निर्णय लिएर आयोगमा पुगेका हुन् । केन्द्रीय कमिटी बैठकको निर्णय लिएर आयोगमा पुगेको नेता पोखरेलले जानकारी दिए ।
केन्द्रीय कमिटीका ४४६ सदस्यमध्ये ३१५ जनाको उपस्थितिमा प्रधामनन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कारवाही गरिएको प्रचण्ड–नेपाल पक्षले दावी गरेको छ । प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी सदस्यको बैठकअघि नै ओली पक्षले केन्द्रीय समिति विस्तार गरेर १ हजार १९९ सदस्यीय बनाएको थियो ।
केन्द्रीय समिति विस्तारको निर्णयबारे ओली पक्षले मंगलवार नै आयोगलाई जानकारी गराइसकेको छ । नेकपाको दुवै पक्षले सूर्य चुनाव चिह्न आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् ।