
८ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संयुक्त अधिराज्य (बेलायत) बाट नेपाल प्रवेश गर्नेलाई अनिवार्य होटल क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ । संयुक्त अधिराज्य बेलायतमा नयाँ प्रकारको कोरोना भाइरसको प्रजाति देखापरेपछि स्वास्थ्य मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
नेपाल प्रवेश गरेको मितिले पुस १ देखि ७ गते भित्र नेपाल आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा १० दिनसम्म होटल क्वारेन्टाइनमा बस्न मन्त्रालयले अनुरोध गरेको हो । यस्तै संयुक्त अधिराज्य वा उक्त मुलुकको बाटो हुँदै नेपाल प्रवेश गर्नेलाई समेत प्रवेशको मितिले ७ देखि १० दिनभित्र नजिकैको सरकारी प्रयोगशालामा गई पिसिआर परीक्षण गर्न समेत अनुरोध गरेको छ ।
यस्तै संयुक्त अधिराज्य वा उक्त देश हुँदै नेपाल प्रवेश गर्नेहरुको निःशुल्क पिसिआर परीक्षण व्यवस्था मिलाएको मन्त्रालयका प्रावक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।