८ पुस, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन विरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रदर्शन गर्ने निर्णय गरेको तर, मिति भने भोलिको बैठकले तय गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
‘कांग्रेसले संसद विघटनको विरोधमा ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको छ । तर प्रदर्शनको मिति र कार्यक्रम भोलि (बिहीबार)को बैठकले टुंगो लगाउने छ,’ शर्माले भने । प्रवक्ता शर्माले कांग्रेस लोकतन्त्र र संविधानको पक्षमा आफ्नै ब्यानरमा आन्दोलनमा जाने बताए ।
बुधबारको बैठकमा केन्द्रीय सदस्यहरु डा. रामशरण महत, बलबहादुर केसी, आनन्द ढुंगाना र गगन कुमार थापाले आ–आफ्नो धारणा राखेका थिए । बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्ने प्रवक्ता शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस