
९ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनपछि समानन्तर बैठक थालेका सत्तारूढ नेकपाका केपी शर्मा ओली र दाहाल-नेपाल समूहको आज छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दैछ । ओली पक्षको दिउँसो १ बजे बस्नेछ भने प्रचण्ड–नेपाल पक्षको पनि १ बजे नै बस्नेछ । यसअघि सो पक्षको बैठक ११ बजे तय भएकोमा १ बजेका लागि सारिएको हो ।
मंगलबार पनि दुवै पक्षले आ–आफ्ना समूहका बैठक राखेका थिए । मंगलबारको बैठकमा ओली समूहले ११९९ सदस्यीय केन्द्रीय समिति विस्तार र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो । सो पक्षले पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठलाई हटाउँदै प्रदीप ज्ञवालीलाई दिएको थियो ।
यता संस्थापन पक्ष दावी गर्ने प्रचण्ड–माधव समूहको सोही दिनको बैठकले अध्यक्ष पदबाट केपी शर्मालाई ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष चयन गरेको थियो । नेकपाका दुवै समूहले आधिकारिक पार्टी आफूहरु नै भएको दाबी गर्दै आएका छन् ।