
९ पुस, काठमाडौं । भारतीय टेलिभिजन प्रस्तोता अर्नब गोस्वामीको रिपब्लिक टिभी पछिल्लो समय विवादमा तानिएको छ । गोस्वामी यस टेलिभिजनका प्रधान सम्पादक समेत हुन् । यस टेलिभिजनको हिन्दी च्यानल रिपब्लिक भारतमाथि ब्रिटिस ब्रोडकास्टिङ रेग्युलेटर अर्थात् बेलायतको टेलिभिजन नियमन गर्ने संस्थाले २० लाख पाउन्ड जरिवाना तोकेको छ ।
रिपब्लिक भारत बेलायतमा पनि प्रशारण हुने गरेको छ । टेलिभिजन बहसमा ‘हेट स्पिच’ नियमको उल्लंघन भएको बेलायती अधिकारीहरुले जनाएका छन् । ६ सेप्टेम्बर २०१९ मा प्रकाशित ‘पूछता है भारत’ कार्यक्रममा ‘हेट स्पिच’ अर्थात् घृणा अभिव्यक्तिको प्रयोग भएको र यो अपमानजनक तथा नियमविपरित रहेको अधिकारीहरुले जनाएका छन् ।
बेलायती अधिकारीहरुकाअनुसार ‘पूछता है भारत’ को त्यस शृंखलामा पाकिस्तानीहरुविरुद्ध घृणा फैलाउने भाषण समावेश थियो । अधिकारीहरुका अनुसार कार्यक्रममा राष्ट्रियताका आधारमा भन्दै पाकिस्तानी मानिसहरुबारे अपमानजनक शब्दको प्रयोग गरिएको थियो । कोही पनि व्यक्तिको भावनामा यस्ता अपमानजनक टिप्पणीले ठेस पुर्याउन सक्ने भएकाले बेलायती नियामक संस्थाले यसलाई अपराध भनेको छ । साथै, नियामक संस्थाले यस टेलिभिजनका लागि निर्देशिका पनि जारी गरेको छ । जसअन्तर्गत च्यानलमा कुनै पनि कार्यक्रमलाई दोहोर्याएर प्रशारण नगर्न निर्देशन दिइएको छ ।