
१० पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले नेकपाको ४४१ केन्द्रीय सदस्यमध्ये मौजुदा रहेका ४३६ जनामध्ये ३१५ जनाको हस्ताक्षर निर्वाचन आयोगलाई बुझाएको छ ।
दलको आधिकारिकताका लागि अध्यक्ष प्रचण्ड, नवनियुक्त अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनालले आफ्नो समूह लिएर कान्तिपथस्थित आयोगको कार्यालय पुगेर आधिकारिक हस्ताक्षर बुझाएका हुन् । आयोगमा नेकपाको बहुमत सदस्यहरूको समर्थन रहेकाले आफूहरू नै आधिकारिक नेकपाको धार रहेको दाबी यस पक्षले गरेको छ ।
आयोगका पदाधिकारीले दलको आधिकारिकताबारे छिट्टै निर्णय हुन्छ भनेर आश्वासन दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षले पनि आयोगमा बहुमत केन्द्रीय सदस्यहरूको सहभागिता रहेको भन्दै आधिकारिकता दाबी गरी पत्राचार गरिसकेको छ ।