
१० पुस, काठमाडौं । सरकारले गरेको संसद विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको छ ।
संसद विघटनसम्बन्धी सर्वोच्चमा परेको रिटमाथि शुक्रबार आजदेखि सुरु भएको सुनुवाईका क्रममा संसद विघटनका लागि मन्त्रिपरिषदले गरेको सिफारिसको सक्कल प्रति, राष्ट्रपति कार्यालयको निर्णयको सक्कलप्रति मगाउने, संसद्मा रहेका दलहरुसँग कति कति सांसद छन् भन्ने लगायत आवश्यक कागजात पेश गर्न आदेश दिएको हो ।
आदेशमा पुस १९ गतेभित्र सरकारले प्रतिनिधिसभा विघटन गर्नुको कारण लिखित रूपमा पेश गर्न भनिएको छ । अधिवक्ताहरुले भने आवश्यक कागजात ५ दिनभित्र अदालतमा पेश गर्न माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते विघटनकाे निर्णय गरेका थिए । उनकाे निर्णयपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन उक्त सिफारिसलाई सदर गर्दै संसद विघटन भएको घोषणा गरेकी थिइन् । प्रधानमन्त्रीकाे उक्त कदम ‘असंवैधानिक’ भएको दावी गर्दै सर्वोच्चमा १२ वटा रिट दर्ता भएका थिए ।