समाचार

सुनुवाइ सिफारिस र प्रतिनिधिसभा विघटनबीच ६ मिनेट अन्तर

Parliament Samsad

११ पुस, काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा प्रमुख र पदाधिकारी नियुक्तिका लागि ८ जनाको नाम प्रस्ताव गर्दै प्रतिनिधिसभा विघटन हुनुभन्दा ६ मिनेटअघि सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पत्र दर्ता गराएको पाइएको छ । प्रस्तावित नाम संसद् सचिवालयमा प्राप्त भएको केही छिनमै प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ नभइकनै नियुक्तिका लागि ती नाम सिफारिस हुने देखिन्छ । तर विघटित प्रतिनिधिसभामा संसदीय सुनुवाइ समितिका सदस्य लक्ष्मणलाल कर्ण भने सुनुवाइबिना नियुक्ति गर्न नमिल्ने बताउँछन् । यसबाट गम्भीर संवैधानिक प्रश्न उठ्ने देखिएको छ ।

प्रतिनिधिसभा विघटन हुनुअघि नाम सिफारिस हुनु र संसदीय सचिवालयमा ती नामसहितको सिफारिस पुगेको केही छिनमै प्रतिनिधिसभा विघटन हुनुलाई संयोग मान्न सकिँदैन । प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष उपस्थित संवैधानिक परिषद्को बैठकले ३८ जनाको नाम विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि प्रस्ताव गर्दै सुनुवाइका लागि संसद् सचिवालयमा पठाएको हो ।

संविधानबमोजिम संवैधानिक निकायमा नियुक्तिका लागि प्रस्तावित नाममाथि संसदीय सुनुवाइ गर्नुपर्छ । त्यसैले प्रस्तावित नाम संसद् सचिवालयमा पठाइएको हो । संविधानको धारा २९२ मा उल्लेख छ, ‘यस संविधानबमोजिम संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूत पदमा नियुक्ति हुनुअघि संघीय कानुनबमोजिम संसदीय सुनुवाइ हुनेछ ।’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही पुस ५ गते दिउँसो २ बजेर २१ मिनेटमा प्रतिनिधिसभा विघटन भएको थियो। सोही दिन दिउँसो २ बजेर १५ मिनेटमा विभिन्न संवैधानिक निकायमा प्रमुख र पदाधिकारीमा नियुक्तिका लागि संवैधानिक परिषद्ले प्रस्ताव गरेका ३८ जनाको नामसहितको पत्र संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा दर्ता भएको अभिलेख छ । संसद् सचिवालयमा पत्र दर्ता भएको ६ मिनेटपछि प्रतिनिधिसभा विघटन भयो । यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस