११ पुस, तनहुँ । घरेलु तथा साना उद्योग कार्यालय तनहुँ गण्डकी प्रदेशमै दोस्रो बन्न सफल भएको छ । कार्य कुशलता र राजश्व सङ्कलनमा कास्कीपछिको तनहुँ जिल्ला दोस्रो स्थानमा रहेको सो कार्यालयले जनाएको छ ।
पछिल्लो समय फर्म दर्ता गर्नेको सङ्ख्या दैनिक बढ्दै गएका छन् । दैनिक भीड बढेसँगै पालो पाउन सकस हुने गरेको सेवाग्राहीहरु बताउँछन् । एक दिनमा सकिने काम भीडका कारण तीन दिनसम्म धाउनु परेको व्यास नगरपालिका–१ का कविता नेपालीले बताए ।
चालू आर्थिक बर्षको साउनदेखि यता उद्योग र वाणिज्य गरी एक हजार ४१५ उद्योग दर्ता भएका छन् । जसमा उद्योगतर्फ ९१५ र वाणिज्यतर्फ ५०० उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ । उद्योग दर्ता गर्ने बढेसँगै साउनदेखि उद्योग र वाणिज्यतर्फ दर्ता भएका उद्योगबाट रु ४० लाख राजश्व सङ्कलन भएको छ ।
आर्थिक वर्ष ०७५/७६ मा एक हजार १३४ उद्योग दर्ता हुँदा रु ८५ लाख १९ हजार ७७५, आव ०७६/७७ मा एक हजार २७६ उद्योग दर्ता हुँदा रु ५० लाख ४६ हजार ३०० र आव ०७७/७८ मा ९१५ उद्योग दर्ता हुँदा रु २३ लाख ४० हजार ६७५ राजश्व सङ्कलन भएको उद्योग प्रशासन शाखाप्रमुख मेनका रिमालले जानकारी दिए ।
महिलाहरुको नाउँमा दर्ता गर्दा राजश्वमा छुटको व्यवस्था रहेपछि महिलाको नाउँमा उद्योग दर्ता गर्नेहरुको सङ्ख्या बढी रहेको उनले बताए । पुरुषका नाउँमा दर्ता भएका उद्योगहरु पनि पछिल्लो समय महिलाको नाउँमा नामसारी गर्न थालेका छन् । उनले भने, “राज्यबाट प्रदान गरिने अनुदान र बैकबाट कर्जा लिने व्यवस्था भएपछि महिलाको नाउँमा उद्योग दर्ता गर्ने बढेका हुन् ।” उनका अनुसार ७० प्रतिशतभन्दा बढी महिलाको नाउँमा उद्योग दर्ता भएका छन् ।
त्यसैगरी वाणिज्यतर्फ आव ०७५/७६ मा ७३५ उद्योग दर्ता हुँदा रु ७० लाख ७३ हजार ७८०, आव ०७६/७७ मा एक हजार ८१४ दर्ता हुँदा रु ५४ लाख नौ हजार २७६ र आव ०७७/७८ मा ६२७ दर्ता हुँदा रु १६ लाख ५९ हजार ३२५ राजश्व सङ्कलन भएको वाणिज्य प्रशासन शाखाप्रमुख रबि अधिकारीले बताए ।
गत आवमा रु एक करोड पाँच लाख राजश्व सङ्कलन भएको थियो । गत वर्ष कोरोना कारण तीन महिना बस नचलेपछि करीब नौ महिना मात्रै कार्यालय खुलेका कारण राजश्वमा सोचेअनुरुप सङ्कलन गर्न नसकिएको कार्यालयप्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए ।
राज्यको संयन्त्रमा आएर कर तिर्ने, बैंकिङ कारोबार गर्न सहज हुने र पछिल्लो समय आमनागरिकहरुमा चेतना वृद्धि हुँदै गएका कारण दर्ता प्रक्रियामा लाग्ने गरेको उनले बताए ।
कार्यालयका अनुसार दैनिक भीडलाई न्यूनीकरण गर्न र सेवाग्राही दुई/तीन दिन धाउनुपर्ने अवस्था आएकाले घरबाटै टोकन लिने व्यवस्था मिलाइएको छ । आफूले दर्ता गर्न चाहेको उद्योग तथा फर्म दर्ताका लागि आवश्यक कागजातहरु कार्यालयको इमेल वा फेसबुक पेजमा फोटो खिची मेसेज गर्ने व्यवस्था मिलाइएको कार्यालयप्रमुख ढकालले जानकारी दिए ।
अझै सोचेअनुरुप व्यवसायी दर्ता हुन सकेको छैन । उनले भने, “ठाउँठाउँमा गएर दर्ताका बारेमा जानकारी गराउन सके केही वृद्धि गर्न सकिने थियो, कार्यालयमा कर्मचारीको जनशक्ति कमी छ ।”