
११ पुस, मकवानपुर । हेटौंडा नारायणगढ सडकखन्डअन्तर्गत् पर्ने हेटौंडा उपमहानगरपालिका–१९, बस्तीपुरमा शनिबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४६०९ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रित भई बस्तीपुरमा दुर्घटना हुँदा लमजुङ, सुन्दरबजार नगरपालिका–८ बस्ने ३२ वर्षीय हरि गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए । सोही दुर्घटनामा परी अन्य आठजना घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेको पूरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बसचालक चितवनको राप्ती नगरपालिका–२ बस्ने ४१ वर्षीय रामबहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।