समाचार

नेकपा विभाजनः दुवै पक्षबाट औचित्य पुष्टिको प्रयास

kp oli prachanda

१२ पुस, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूले शनिबार दिनभरि नै काठमाडौंमा रहेका कार्यकर्तालाई विभाजनको औचित्य पुष्टि गर्न समय खर्चिएका छन् । दुवै पक्षका नेताहरू जिल्लाजिल्लाबाट काठमाडौंमा रहेका कार्यकर्तालाई भेला गरेर पार्टी विभाजनको कारणबारे चर्चा गर्न र त्यसको औचित्य पुष्टि गर्न लागिपरेका हुन् ।

पार्टी विभाजनपछि दुवै पक्षले कार्यकर्ता आ–आफ्नो पक्षमा पार्न जिल्ला तहमै कसरत सुरु गरिसकेका छन् । काठमाडौंदेखि स्थानीय तहसम्म नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्न दुवै समूहले प्रभावशाली केन्द्रीय नेताहरू नै परिचालन गरेका छन् । दाहाल–नेपाल समूहले शनिबार सचिवालय बैठक राखेर संगठन विस्तार गर्ने र ओली पक्षमा रहेका नेता–कार्यकर्तालाई तान्ने विषयबारे छलफल गरेको छ । पार्टी विभाजनपछि त्यसको दोषी को हो भन्नेबारे नेता–कार्यकर्तालाई बुझाउन सकेसम्म सचिवालय सदस्य र नभए पनि स्थायी कमिटी सदस्यहरूलाई खटाउने भएको छ । ओली पक्षले भने यसअघि नै देशभर कार्यकर्ता भेला गर्ने र सबैजसो स्थानमा केन्द्रीय नेताले सम्बोधन गर्नेगरी कार्यतालिका तयार पारेर आफूनिकटका नेताहरूलाई पठाइसकेको छ ।

शनिबार ओली पक्षका नेता ईश्वर पोखरेलले काठमाडौं–५ का कार्यकर्तालाई सम्बोधन गरे । शंकर पोखरेलले लुम्बिनी प्रदेशका नेता–कार्यकर्तालाई सम्बोधन गरे । त्यस्तै दाहाल–नेपाल समूहका सुरेन्द्र पाण्डेले धादिङका नेता–कार्यकर्तालाई सम्बोधन गरे । दाहाल–नेपाल समूहले हरिबोल गजुरेलको उपस्थितिमा सिन्धुलीका नेता–कार्यकर्तासँग छलफल गरे । दुवै पक्षका नेताहरूले पार्टी विभाजन हुनुमा एकले अर्कालाई दोष थोपर्दै आफूहरू नै असल भएको साबित गर्न खोजेका छन् । पार्टीका नेता–कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा ओली पक्षका नेताहरूले दाहाल–नेपालले सरकारलाई काम गर्न नदिएको, आफ्ना मान्छे भर्ती गर्न दबाब दिएको, ओलीलाई राष्ट्रियतको पक्षमा काम गर्दा पनि समर्थन गर्न नसकेको, राष्ट्रपति र प्रधानमन्त्रीलाई हटाउने षड्यन्त्र रचेको आरोप लगाएका छन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस