
१२ पुस, काठमाडौं । प्रदेश नम्बर १ काे सरकारका ३ मन्त्रीले आइतबार बिहान राजीनामा दिएका छन् । सत्तारूढ नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका प्रदेशमन्त्रीले राजीनामा दिएका हुन् ।
प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन् । वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमहरुका कारणले गर्दा वर्तमान प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको व्यहोरा राजीनामा पत्रमा उल्लेख छ ।
यसअघि, शनिबार मुख्यमन्त्री शेरधन राईले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मन्त्री पदबाट हटाएका थिए । योसँगै प्रदेश नम्बर १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको छ । आङ्बोको नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको हो । पदबाट हटाइएलगत्तै आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको बताएका छन् । उनले अब आफ्नो अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको जानकारी दिए ।