१२ पुस, काठमाडौं । काठमाडौं-तराई/मधेस द्रुतमार्गमा नेपाल टेलिकमले अप्टिकल फाइबर बिछ्याउने भएको छ । नेपाल टेलिकम र आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउने सम्झौता भएको हो । राजधानीलाई तराईसँग जोड्ने सबैभन्दा छोटो सडकमा अप्टिकल फाइबर बिछ्याउने प्रावधान सम्झौतापत्रमा छ । ७२.५ किलोमिटर सडक नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन छ ।
नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र सो द्रुतमार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलबाट सम्झौतामा हस्ताक्षर भएको छ । विभिन्न प्याकेजमा चरणगत रुपमा निर्माण हुने द्रुत सडक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित् ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ ।
अत्यन्त तीव्र गतिमा निकै ठूलो परिमाणमा डाटा आदान प्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि जमिन खन्ने, पाइप बिछ्याउने र त्यसमा केबल राख्ने कार्य गर्नुपर्ने हुन्छ । यस कार्यमा लाग्ने आर्थिक व्ययभार नेपाल टेलिकमले व्यहोर्ने छ साथै अप्टिकल फाइबर बिछ्याउने कार्यको प्राविधिक सुपरभिजन लगायतका कार्य कम्पनीका तर्फबाट निरन्तर गरिने बताइएको छ ।