१३ पुस, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा ९ लाख ११ हजार जनालाई उपलब्ध गराउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले खोप आयात गर्न ४८ अर्ब रुपैयाँ सुनिश्चित गरिएको बताए । आवश्यक रकमको व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकिएको छ । खोप भण्डारणका लागि काठमाडौं उपत्यकाबाहिर ६ स्थानमा भवन बनाउन लागिएको छ । कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् २ करोड १६ लाखलाई खोप उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कोरोना संक्रमण रोकथाम, उपचार तथा व्यवस्थापनमा खटिने व्यक्तिलाई पहिलो प्राथमिकतामा राखिएको छ । दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगी प्राथमिकतामा छन् । दोस्रो चरणमा ५१ लाखलाई खोप दिने योजना छ । तेस्रो चरणमा ४० देखि ५४ वर्षका २९ लाखलाई दिइनेछ ।
१५ देखि ३५ वर्ष उमेर समूहका ४२ प्रतिशत (एक करोड २७ लाख)लाई खोप दिने योजना बनाइरहेको डा. गौतमले बताए । १५ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको परीक्षण खोप उपलब्ध नगराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप ल्याउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), युनिसेफ, गाभीसँग समन्वयात्मक रूपमा सहकार्य गरिरहेको डा. गौतमले बताए । यो समाचारआजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।