समाचार

ओली श्री ३ महाराजधिराज जंगबहादुरको बाटोमा हिँडे : प्रचण्ड

prachanda press meet

१३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराजधिराज जंगबहादुरको बाटोमा हिँडेको आरोप लगाएका छन् ।

सोमबार जनसंस्कृतिक महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली सामन्ती शासक ‘श्री ३ महाराजधिराज जंगबहादुर’को बाटोमा हिँडेको आरोप लगाएका हुन् । उनले भने, ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो । त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो ।’

संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेसँगै ओलीले कलंकको टीका लगाएको उनले बताए । त्यसको विरोधमा आफूहरु सडकमा आएको भन्दै प्रचण्डले भने, ‘केपीजीलाई धन्यवाद । तपाईले हामीले जनतामा जाने मुद्दा दिनुभयो । संविधान, संघीयता, गणतन्त्रको पक्षमा लड्ने मुद्धा दिनुभयो । अर्को चुनाव हामी जित्छौं ।’

राजनीतिक रुपमा बाजी जितेपछि भोलिबाट फिल्डमा उत्रिनुपर्ने र केही महिना लाग्ने उनको दाबी छ । उनले ओली सरकार भने विघटित भएको दाबी गरे । ‘अहिले सविधानले दिँदै नदिएको, हुँदै नभएको अधिकार प्रयोग गरिएको छ । मैले भनेको छु सदन मरेको छैन, जिवित छ, विघटन भएको छैन । विघटन भएको केपी ओलीको सरकार हो । उसले जनता र संविधानको मर्म र भावना विरुद्ध गएपछि ऊ विघटित भएको हो । त्यसैले उसले अनाधिकृत रुपमा संसद्को हत्या भएको भनेको छ, हत्या भएको छैन’, उनले भने ।

प्रचण्डले अदालतप्रति आफूलाई भरोसा भएको व्यक्त गरे। ‘संविधानको व्यवस्था अनुसार सदनलाई सुरु गर्ने आदेश आउनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु’, उनले भने । एकजना व्यक्तिलाई रिस उठ्यो भने संसद विघटन गर्न नसकोस् भनेर नै संविधानमा त्यो अधिकार नदिएको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस