
१४ पुस, काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओको टोलीले विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई जोड्ने प्रयास गरेको छ । चारदिने नेपाल भ्रमणमा आएको सो टोलीले नेकपा शीर्ष नेताहरूलाई भेटेर पार्टी विभाजन हुन नदिन मिलनबिन्दुबारे खोजीनीति गर्दै पुनः एकताको प्रयास थालेको हो ।
पार्टी एकताको समेत सूत्रधार मानिएको गुओको टोलीले काठमाडौंमा प्रधानमन्त्री केपी ओलीसहित नेकपाका चार नेतालाई भेटेर विभाजनको औचित्य र यसले पार्ने असर तथा नेपालको सन्दर्भमा कम्युनिस्ट पार्टीको भविष्यबारे चासो व्यक्त गरेको थियो । गुओको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री एवं नेकपाका शीर्ष नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटी नेकपा विभाजित हुनुको कारण बुझेका थिए ।
आइतबार र सोमबार दिनभरि नै चिनियाँ नेताहरूले नेकपाका शीर्ष नेताहरूसँग भेट गरे । चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओको टोली तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकताका लागि २०७४ फागुन ७ मा सातबुँदे समझदारी हुनेबित्तिकै नेपाल आएको थियो । तत्कालीन समयमा दुई पार्टीलाई एकताबद्ध बनाउने काममा उनको टोलीले काम गरेको बताइन्छ । पार्टी विभाजन हुनेबित्तिकै गुओको टोली नेपाल आएर नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्नुले यो पार्टीमा चिनियाँ प्रभाव रहेको भन्न सकिने अवस्था आएको छ । प्रधानमन्त्री ओलीसँग आइतबार राति अबेर भेटघाट गरी गुओको टोलीले पार्टी एकताका लागि पहल गर्न आग्रह गरेको थियो । टोलीले चिनियाँ राष्ट्रपति सी चिन फिङको समेत पार्टी विभाजन नहोस् भन्ने धारणा रहेको सन्देश सुनाएको थियो ।
प्रधानमन्त्री ओलीले आफूमा कुनै समस्या नभएको जवाफ दिँदै यो नेकपाको आन्तरिक मामिला भएकाले यसमा अरूको सहयोग आवश्यक नहुने धारणा राखेको स्रोतको दाबी छ । ‘नेपालमा पार्टीहरू विभाजित हुन्छन्, एकता हुन्छ, यहाँको अवस्था यस्तै छ, यो आन्तरिक मामिला हो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । त्यसक्रममा चिनियाँ नेताहरूले ओली र दाहाल मिलेर अघि बढे नेपालको कम्युनिस्ट आन्दोलन सफल रहने बताएका थिए । उनीहरूले ओलीसँग चिनियाँ सरकारले नेपाल सरकारलाई गर्ने सहयोगमा कुनै कमी नरहेको, सहयोग जारी नै रहेको, विभिन्न परियोजनामा चिनियाँ लगानी रहेको र भविष्यका पनि अन्य लगानीमा पनि सहकार्य गर्ने जनाएका थिए ।
ओलीसँगको भेटपछि सोमबार बिहान सो टोलीले पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष दाहालसँग भेटी नेकपामा विभाजनको कारणबारे जिज्ञासा राखेको थियो । नेकपा मिल्न सक्ने कुनै आधार बाँकी छ कि छैन भन्ने प्रश्नसमेत टोलीले राखेको थियो । उनीहरूले दाहालसँग नेपालको सिंगो कम्युनिस्ट पार्टीसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को सहकार्य रहेको बताउँदै एकता कायम रहे त्यो सहकार्य पनि यथावत् रहने जनाउ दिएका थिए । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्की र वसन्त खड्काले लेखेका छन् ।