समाचार

चिनियाँ नेतालाई प्रमको जवाफः ममा कुनै समस्या छैन

chinese delegation and oli

१४ पुस, काठमाडौं । आइतबार र सोमबार दिनभरि नै चिनियाँ नेताहरूले नेकपाका शीर्ष नेताहरूसँग भेट गरे । चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओको टोली तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकताका लागि २०७४ फागुन ७ मा सातबुँदे समझदारी हुनेबित्तिकै नेपाल आएको थियो । तत्कालीन समयमा दुई पार्टीलाई एकताबद्ध बनाउने काममा उनको टोलीले काम गरेको बताइन्छ ।

पार्टी विभाजन हुनेबित्तिकै गुओको टोली नेपाल आएर नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्नुले यो पार्टीमा चिनियाँ प्रभाव रहेको भन्न सकिने अवस्था आएको छ । प्रधानमन्त्री ओलीसँग आइतबार राति अबेर भेटघाट गरी गुओको टोलीले पार्टी एकताका लागि पहल गर्न आग्रह गरेको थियो । टोलीले चिनियाँ राष्ट्रपति सी चिन फिङको समेत पार्टी विभाजन नहोस् भन्ने धारणा रहेको सन्देश सुनाएको थियो ।

प्रधानमन्त्री ओलीले आफूमा कुनै समस्या नभएको जवाफ दिँदै यो नेकपाको आन्तरिक मामिला भएकाले यसमा अरूको सहयोग आवश्यक नहुने धारणा राखेको स्रोतको दाबी छ । ‘नेपालमा पार्टीहरू विभाजित हुन्छन्, एकता हुन्छ, यहाँको अवस्था यस्तै छ, यो आन्तरिक मामिला हो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । त्यसक्रममा चिनियाँ नेताहरूले ओली र दाहाल मिलेर अघि बढे नेपालको कम्युनिस्ट आन्दोलन सफल रहने बताएका थिए ।

ओलीसँगको भेटपछि सोमबार बिहान सो टोलीले पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष दाहालसँग भेटी नेकपामा विभाजनको कारणबारे जिज्ञासा राखेको थियो । नेकपा मिल्न सक्ने कुनै आधार बाँकी छ कि छैन भन्ने प्रश्नसमेत टोलीले राखेको थियो । उनीहरूले दाहालसँग नेपालको सिंगो कम्युनिस्ट पार्टीसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को सहकार्य रहेको बताउँदै एकता कायम रहे त्यो सहकार्य पनि यथावत् रहने जनाउ दिएका थिए । ‘पार्टी एकता जोगाउनुस्, नेपालको कम्युनिस्ट आन्दोलनमा तपाईंहरूको सहकार्य आवश्यक छ, कुनै न कुनै बिन्दुमा तपाईंहरूको एकता कायम हुनुपर्छ भन्ने चिनियाँ कम्युनिस्ट पार्टीको सन्देश छ,’ चिनियाँ टोलीनेता गुओले दाहालसँगको भेटमा भनेका थिए । नेकपा विभाजन नेपालको आन्तरिक मामिला भए पनि कम्युनिस्ट भाइचारको सम्बन्ध रहेको बताउँदै सिपिसीले नेपालमा कम्युनिस्ट एकता हेर्न चाहेको गुओले बताएका थिए । यो समाचार आजको आजको नागरिक दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस