
१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको विरोध जनाउँदै आन्दोलनरत नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मंगलबार देशैभर प्रदर्शन, जुलुसको आयोजना गर्ने भएको छ । मंगलबार बिहान ११ बजेदेखि देशैभर प्रदर्शन हुने नेकपाका नेताहरूले जनाएका छन् ।
यसैक्रममा काठमाडौं उपत्यकामा विभिन्न ८ स्थानबाट र्याली निकालिने तयारी भएको छ । नक्साल, बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घन्टाघर, टेकु, थापाथलीलगायतका ठाउँबाट निकालिने र्याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । आजको प्रदर्शनमा उपत्यकामा मात्रै एक लाख मानिस उतार्ने नेकपा नेताहरुले दाबी गरेका छन् ।
भृकुटीमण्डपमा हुने सभामा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने बताइएको छ ।