
१५ पुस, काठमाडौं । गैरकानुनी रूपमा चीन पुर्याई मानव बेचबिखन गरेको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले मानव बेचबिखन गरेको आरोप लागेका काभ्रेको रोशी गाउँपालिका–४ घर भई ललितपुर पाटन बस्ने ३२ वर्षीय किरण तामाङलाई सोमबार सानेपाबाट पक्राउ गरेको हो ।
तामाङले बबरमहल (नाम परिवर्तन) लाई चीनमा व्यापार तथा रोजगार गर्ने प्रलोभनमा पारेर गैरकानुनी तवरले गत पुस २५ गते चीन पुर्याएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफूसँगै चीनको सान्दोङ प्रान्त हेज सहरको ताङ-लो टोलमा बस्ने ताम्पु थोङ भन्ने चिनियाँ नागरिकको घरमा पुर्याई झुक्याई बिक्री गरेको ब्युरोले जनाएको छ ।
ती युवतीलाई ताम्पु थोङ भन्ने चिनियाँ पुरुषले शारीरिक र मानसिक यातना दिई बन्धकएको अवस्थामा आफन्तसँग सामाजिक सन्जालमार्फत आफू बिक्री भएको र यातना पाइरहेको जानकारी गराएकी थिइन् । उनका आफन्तले ब्युरोलगायत विभिन्न निकायसँग समन्वय गरी गत कात्तिक १२ मा पीडित (बबरमहल) लाई नेपाल फर्काइएको थियो ।