
१५ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड–माधव पक्ष) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकता मच्चाएको बताएका छन् । बुधबार काठमाडौंमा आफू पक्षीय अखिल नेपाल महिला संघले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीले केही मान्छेहरुलाई बालुवाटारमा भेला गरेर अराजकता मच्चाएको बताएका हुन् ।
उनले बालुवाटारमा संविधान विरोधी, लोकतन्त्र विरोधी र अराजक मान्छेहरू मात्रै भेला हुने गरेको भन्दै त्यसको नायक प्रधानमन्त्री ओली रहेको दाबी गरे । ‘केपी ओलीले केही मान्छे पालेर जसरी बालुवाटारमा भेला गरेका छन त्यो भेला भनेको एउटा गुटको भेला हो । त्यो संविधान विरोधी भेला हो । त्यो लोकतन्त्र विरोधी भेला हो । त्यो अराजक मान्छेहरूको भेला हो’, उनले भने ।
आफैले हस्ताक्षर गरी निर्माण गरेको संविधानमाथि प्रधानमन्त्री ओलीले बलत्कार गरेको समेत वरिष्ठ नेता खनालले बताए । संविधानमा नभएको व्यवस्था प्रयोग गरी संसद विघटन गरिनु संविधान नै विघटन गरेको हुने बताए । प्रधानमन्त्री ओलीमा देखिदै गएको स्खलनका कारण संविधानलाई नै अस्वीकार अवस्थामा पुगेको बताए ।
उनले भने, ‘संविधान निर्माण गरिसकेपछि उनले पनि हस्ताक्षर गरेका छन् तर आज आफ्नै हस्ताक्षरलाई उनले बलात्कार गरेका छन् । देशमाथि आक्रमण गरेका छन् र संविधानको मर्म र भावनाका विपरित उनले अहिले फेरी संसदको विघटन गरेका छन् । संसदको विघटन भनेको संविधानको विघटन हो । संविधानलाई प्वाल पार्ने काम हो । संविधानलाई विध्वंस गर्ने काम हो ।’