
१६ पुस, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा तेज–तीर्थ ट्रष्टको आयोजनामा गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले प्रतिनिधि सभा विघटनको कदमले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दुरगामी असर पार्ने र देश अनिश्चितताको बाटो तर्फ गईरहेको बताए ।
उनले असंवैधानिक कदमलाई सच्याउन सबै देशबासीको जिम्मेवारी रहेको पनि बताए। पूर्व राष्ट्रपति यादवले अदालत नेपाली जनताको आशा र भरोसाको संस्था भएकोले अदालतबाट न्याय हुनेमा सबै लोकतन्त्रवादी र आफ्नो पनि आशा रहेको विश्वास व्यक्त गरे । यादवले २०३३ सालमा बीपी कोइराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण देशमा प्रजातन्त्र, राष्ट्रियता र शान्तिको निम्ति मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताए ।
नेपालको अहिलेको राजनीतिक अवस्थामा अन्तर्राष्ट्रिय ध्यान पनि केन्द्रीत रहेको भन्दै पूर्वराष्ट्रपति यादवले यस्तो अवस्थामा लोकतान्त्रिक संस्थाहरुले आफ्नो कर्तव्य निर्वाह नगरे राष्ट्रलाई भलो नहुने बताए । नेपालको अहिलेको राजनीतिक अवस्थामा अन्र्तराष्ट्रिय ध्यानपनि केन्द्रीत रहेको भन्दै पूर्वराष्ट्रपति यादवले यस्तो अवस्थामा लोकतान्त्रिक संस्थाहरुले आफ्नो कर्तव्य निर्वाह नगरे राष्ट्रलाई भलो नहुने बताए। भू–राजनीतिक, समसामयिक अवस्थालाई चिन्तन गरी स्वस्थ विदेश नीति नल्याए राष्ट्रको जर्गेना गर्न अप्ठ्यारो पर्ने पनि उनको भनाइ छ ।