समाचार

काठमाडौं उपत्यकाको तापक्रम अझै घट्न सक्ने

kathmandu temperature

१७ पुस, काठमाडौं । उपत्यकाको तापक्रम बिहीबार शून्यमा झरेको  छ। बिहीबार बिहानको तापक्रम ०.८ डिग्री मापन भएको छ । यो तथ्यांक यस वर्षकै कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत मंगलबार उपत्यकाको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस थियो । गत वर्ष डिसेम्बर ३१ तारिखमा उपत्यकाको न्यूनतम तापक्रम १.५ डिग्री रेकर्ड भएको थियो ।

मध्य हिउँदको अवधि अझै बाँकी रहेकाले चिसो अझै बढ्न सक्ने महाशाखाका अधिकारीको ठहर छ। ‘हिउँदे वर्षा अझै भएको छैन । वर्षासँगै उच्च भेगमा हुने हिमपातको प्रभावले स्वाभाविक रूपमा देशैभर चिसो बढ्छ’, महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाले भने । अहिले पश्चिमी वायु बलियो नभएकाले तत्काल हिउँदे वर्षाको सम्भावना नरहेको सापकोटाले बताए ।

वर्षा नभए पनि काठमाडौं उपत्यकासहित अन्यत्र तापक्रम घट्नेक्रम जारी छ । बिहीबार जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५, दिपायलको ०.४, वीरेन्द्रनगरको १.९ डिग्री मापन भएको छ । मौसमविद् अंग्रेजी महिनाका डिसेम्बर, जनवरी र फेब्रअरीलाई मध्य हिउँदे अवधिका रूपमा बुझ्ने गर्छन् । भू–मध्य सागरको वायु अफगानिस्तान, पाकिस्तान, भारतको जम्मु कस्मिर हुँदै मुलुकको सुदूरपश्चिमी भेगबाट प्रवेश गर्छ । सोही प्रभावले नेपालसहित छिमेकी मुलुकमा हिमपात र हिउँदे वर्षा हुने गर्छ । सो प्रभाव अहिले कमजोर भएकाले हिउँदे वर्षाको असर नदेखिएको मौसमविद् बताउँछन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा टीका बन्धनले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस