
१७ पुस, धनुषा । धनुषामा सिआइबि लगायत सरकारी निकायको नक्कली परिचय पत्र तथा स्ट्याम्प बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रवार पत्रकार सम्मेलन गरी सीआइबी लगायत सरकारी निकायको नक्कली परिचय पत्र तथा स्ट्याम्प बनाएको आरोपमा चार जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-९ मा रहेको सिटी प्यालेस गेस्ट हाउस एण्ड फेमिली रेस्टुरेन्टमा बिहीवार आपराधिक गिरोहका मानिसहरुले सरकारी कागज, दस्तखत तथा छाप कीर्ते गरी नक्कली कागजातहरु तयार गरिरहेको जानकारी प्रहरीलाई प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले खानतलासी गर्दा सो होटलको कोठा नम्बर १०६ बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य अररिया फाविशगंज घर भई मोरङको विराटनगर उपमहानगरपालिका वडा नम्बर-१ बस्ने २७ वर्षीय समिर साह, महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्बर-९ बस्ने २१ वर्षीय आदित्य कुमार यादव, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-४ बस्ने ३० वर्षीय चन्दन साह र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२ बस्ने ५० वर्षीय रामचन्द्र साह रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले प्लास्टिकको ३ थान पेस्तोल, विभिन्न बैंक तथा कार्यालयहरुको ४० थान स्टाम्प, नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो लेखिएको प्रमाणपत्र एक थान, प्रभु बैंक, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, मेगा बैंकको नगद जम्मा भौचर, नविल बैंकको क्यास डिपोजिट स्लिप, नेपाल रेल्वे कम्पनी लिमिटेडको ३ थान आवेदन फारम, विभिन्न बैंकहरुका खाली चेकबुकलगायतका सामग्रीहरु बरामद गरिएको थियो ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी उपरीक्षक वस्नेतले बताए ।