१७ पुस, काठमाडौं । काठमाडौको मैतिदेवीस्थित एक सहकारी संस्थामा काम गर्ने कर्मचारीबाट नगद तथा चेक लुटपाट गर्ने समूहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ का २९ वर्षीय रोहन नेपाली शाही, सोही महानगरपालिका-२६ नरदेबी वतन भई थानकोट बस्ने २२ वर्षीय अभय तुलाधर, नरदेबी वतन भई चक्रपथ बस्ने २७ वर्षीय अमित तुलाधर, नरदेबी घर भएका १८ वर्षीय किशोर र जुम्ला सिंजा गाउँपालिका-२ वतन भई चक्रपथ बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा रहेका छन् ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार उनीहरुले मैतीदेवीको सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने प्रेम गजमेरलाई खुकुरी प्रहार गरी लुटपाट गरेका थिए । थापाका अनुसार १५ पुसमा गजमेरले बजारबाट संकलन गरेर बोकेको एक लाख ६६ हजार ९ सय १५ रुपैयाँ उनीहरुको समूहले चाबहिलमा जबरजस्ती लुटपाट गरेको थियो ।
घटनाबारे अनुसन्धान गर्ने क्रममा लुटपाट गरेर लगिएको नगद, सहकारीका कागज पत्र, झोला र पीडितलाई प्रहार गरिएको खुकुरीसहित चोरीका ४ स्कुटर र एउटा मोटरसाइकलसमेत बरामद गरिएको छ ।
थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको एसपी ईश्वर कार्कीले बताए ।