समाचार

टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलगायतको रिहाइको माग गर्दै आन्दोलनको घोषणा

tharuhat tharuwan abhiyan

१७ पुस, काठमाडौं । टिकापुर घटनामा दोषी ठहर भएका निवर्तमान सांसद रेशम चौधरी, थरुहट नेता लक्ष्मण थारुलगायतको तत्काल रिहाईको मागसहित आन्दोलनको घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी टीकापुर थरुहट/थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियानले आन्दोलनको घोषणा गरेको हो ।

२१ वटा विभिन्न संघसंस्थाहरू अभियानको पक्षमा रहेको उल्लेख गर्दै संयोजक सुरेन्द्र चौधरीले आन्दोलनको कार्यक्रम घोषणाबारे जानकारी दिएका हुन् । पहिलो र दोस्रो चरणको अभियान नाम दिइएको आन्दोलनको कार्यक्रममा विभिन्न पक्ष र क्षेत्रका व्यक्तिहरुसँग अन्तक्रिया गर्ने, प्रदर्शन गरी सिडिओहरुलाई ज्ञापनपत्र पेश गर्ने, पेनडाउन गर्न लगाउने, लाठी जुलुस प्रदर्शन गर्ने, आमसभाको आयोजना देखि थप आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गर्ने तय भएको अभियानले जनाएको छ ।

टिकापुर थारुहट/थारुवान बिद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले टिकापुर घटना व्यक्ति विशेषको आन्दोलन नभएको भन्दै पूर्वाग्रही तरिकाले व्यक्ति विशेषलाई पक्राऊ गरी जेल हाल्ने गतिविधि भएको आरोप लगाए । उनले सुरक्षाकर्मी उतारेर थारुहरुमाथि दमन गरेको आरोप लगाए । चौधरीले भने, ‘यो घटनालाई राजनितिक छलफलबाट समाधान गरिनुपर्छ ।’ घटनालाई जाती विशेष मुद्दा नबनाएर राष्ट्रिय मुद्दा बनाउन आग्रह गरे ।

तराई मधेस राष्ट्रिय परिषद सगठन प्रमुख सरोज रायले आन्दोलन अधिकारको लागि भएको टिप्पणी गरे । उनले टिकापुर घटनामा मात्र नभई मधेस आन्दोलनमा पनि दमन गरिएको बताए । जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र झाले अभियानमा ऐक्यवद्धता जनाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाको छानविन गर्न गठिन आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै प्रश्न गरे ।

७ भाद्र २०७२ मा टीकापुरमा भएको थारु विद्रोहका क्रममा एसएसपीसहित सात प्रहरीहरु र एक बालक मारिएका थिए । उक्त घटनाका अभियुक्त निवर्तमान सांसद रेशम चौधरी, थरुहटका नेता लक्ष्मण थारुलगायतलाई अदालतले आजीवन कारावासको सजाय सुनाइसकेको छ । थरुहट/थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियानले चौधरीलगायतमाथि झुठा मुद्दा लगाएर फैसला गरेको भन्दै राजनितिक संवादद, सहमति र निर्णयको आधारमा मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरुलाई निर्शत रिहाई गर्न माग गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस