
१८ पुस, काठमाडौं । भक्तपुरको दुधपाटीमा रहेको भक्तपुर अस्पताल मूल्याङ्कनमा ८२ अङ्क प्राप्त गरी यस वर्ष बाग्मती प्रदेश अस्पतालमा उत्कृष्ट अस्पताल हुन सफल भएको छ । भक्तपुर अस्पतालमा आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको छ ।
स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा आएको सरकारी मूल्याङ्कन टोलीले मूल्याङ्कनको मापदण्डअनुसार दिएको नम्बरको आधारमा भक्तपुर अस्पतालले सबैभन्दा धेरै नम्बर प्राप्त गरेको हो ।
उक्त मूल्याङ्कन टोलीले भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा दु्रत गतिमा प्रगति गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएको पुष्टि गरेको हो । अस्पतालको स्थलगत अवलोकन र मूल्याङ्कनमा भक्तपुर अस्पतालले ८२ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको वाग्मती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर अर्जुन सापकोटाले बताए ।
गत वर्ष यस्तै मूल्याङ्कनमा भक्तपुर अस्पतालले आफ्नो खराव अवस्थाका कारण ३८ अङ्कमा चित्त बुझाउनुपरेको थियो । अस्पतालको सफलतासँगै कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी पनि दङ्ग देखिएका छन् ।