समाचार

कर्मको फल : कामदार मालिक बनेपछि ….

Sampurna Kitab Neupane

१८ पुस, काठमाडौं । दुई दशक अघि अर्काको पुस्तक पसलमा सहयोगी भएर काम थालेका एक युवक अहिले पुस्तक पसल मात्रै होइन, पब्लिकेशनको मालिक बनेका छन् । उनकै क्रियाशीलतामा जिल्लाका लेखकले पुस्तक लेख्ने र छपाउने गर्न थालेका छन् ।

गैँडाकोट नगरपालिका–७ गैह्रीका लेखराम सापकोटाले विसं २०५७ मा एसएलसी परीक्षा दिएसँगै पुस्तक पसलमा काम गर्न थाले । नारायणगढको मिलनरोडमा रहेको पाण्डे पुस्तक पसलमा सहयोगीका रुपमा सापकोटाले दुई वर्ष काम गरे । त्यसपछि उनका दुई वर्ष काठमाडौंको एशिया पब्लिकेशनमा बित्यो । यसपछिका छ वर्ष मलेसिया, कतार र संयुक्त अरब इमिरेटस्मा बिताएका सापकोटा फेरि फर्किएर यहाँकै मास्के पुस्तक भण्डारमा काम थाले ।

चार वर्ष त्यहाँको अनुभवपछि विसं २०७१ भदौमा सापकोटाले साथीसँग मिलेर पुस्तक पसल खोल्ने निर्णयमा पुगे । सुनगाभा पुस्तक पसल उनको साझेदारी पुस्तक पसल थियो । त्यसको थप अनुभव लिँदै जाँदा अहिले उनले एकल स्वामित्वको सम्पूर्ण किताब पसल खोलेका छन् । साथीसँग मिलेर थोक व्यापारका लागि काठमाडौंको भोटाहिटीमा सम्पूर्ण किताब पसल पनि छ ।

उनले भने, “भोटाहिटीको हामी दुई जनाको साझेदारीमा खुलेको पसल हो । यो मेरो निजी हो ।” यससँगै युरेका पब्लिकेशनको उनी एकजना साझेदार हो जसले हालसम्म ३० वटा पुस्तक प्रकाशन गरिसकेको छ । युरेकाको प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाको व्यावसायिक सम्बन्ध साङ्ग्रिला पब्लिकेशनसँग पनि छ ।

सम्पूर्ण किताब भन्नासाथै जिल्लामा साहित्यिक पुस्तक भण्डारका रुपमा धेरैले चिन्दछन् । भरतपुर महानगरपालिका वडा नं १ बालकुमारी कलेज रोडमा रहेको यस पुस्तक पसलमा अन्य पाठ्यपुस्तक पनि पाइन्छ । पुस्तक पसलमा बिहानदेखि साँझ अबेरसम्म जिल्ला र बाहिरबाट आएका साहित्यकार जुट्ने गर्दछन् । पुस्तक पसलमा सापकोटाले आफैँले कमाएर रु ५० लाखभन्दा बढी लगानी गरिसकेका छन् । यहाँको आम्दानी पुस्तक पसलमा थपिँदै गएको छ ।

रु एक हजार २०० मासिक पारिश्रमिक लिएर काम शुरु गरेका सापकोटालाई श्रममा विश्वास गर्ने र सरल व्यक्तिका रुपमा धेरैले चिन्दछन् । कामलाई सानो नभनी त्यसबाट अनुभव संगाल्दै  निरन्तर लागिरहने हो भने सफलता मिल्ने उनको बुझाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस