१८ पुस, विराटनगर । भाटभटेनी सुपरमार्केटले ग्रोसरीका सामानमा खरिद गर्दा १० प्रतिशत छुट दिन थालेको छ । विराटनगर सहितका स्टोरमा पुस २ गतेदेखि ग्रोसरीका सामानमा छुटको अफर ल्याएको हो । विराटनगरमा सीमा पारी भारतको जोगबनीसम्म पुग्ने ग्राहकलाई समेत यो अफरले तानेको छ । अहिले भारतको सीमा बन्द भएका कारण पनि धेरै ग्राहक नेपालमै रोकिएका छन् ।
पाँच हजार रुपैयाँको सामान खरिद गर्दा ५ सयसम्म छुट मिल्न थालेपछि ग्राहकको घुइँचो लाग्न थालेको छ । भाटभटेनीका प्रबन्धक विनोद भट्टराईले ग्राहकको मनोभावसमेत बुझेर १० प्रतिशतसम्म छुटको अफर ल्याएको बताए । कोभिडबाट जनजीवन प्रभावित बनेकोले खरिदारीमा निरासा नहोस् भनेर अफर ल्याइएको बताए ।
भाटभटेनीले दाल, चामल, तेल, बेकरी, फ्रोजन मासु र ट्वाइलेट्रिजलगायतमा छुट दिएको छ । तर, नुन, चिनी र मदिराको मूल्यमा भने छुटको व्यवस्था नदिइएको भाटभटेनीले जनाएको छ । देशभर भाटभटेनीका ५ वटा स्टोर निर्माणाधीन छन् भने १८ वटा सञ्चालित छन ।