समाचार

रुकुम पश्चिम हत्याकाण्ड : नवराज विकसहित अन्य मृतकका परिवारद्वारा अन्दोलनको चेतावनी

rukum ghatana

१८ पुस, काठमाडौं । रुकुम पश्चिम हत्याकाण्डमा मारिएका नवराज विकसहित अन्य मृतकका परिवार तथा आफन्तहरुले सरकारसंग निष्पक्ष छानबिनसहित न्यायको माग गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी पीडित परिवार र उनका आफन्तहरुले न्याय नपाए आन्दोलनमा जाने चेतावनी दिएका हुन् । हत्याकाण्डको नौ महिना बितिसक्दा पनि पिडित परिवारले न्याय नपाएको भन्दै सरकारसँग पुनःनिष्पक्ष छानबिन र न्यायको माग गरेका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोक चन्द विश्वास विकले उक्त घटना मानवता विरुद्वको अपराध भएको बताए । उनले भने, ‘जनप्रतिनिधिको संलग्नतामा यो घटना घटेको थियो । कानुन बमोजिम दण्ड दिनुपर्छ ।’ उक्त घटना जातीय विभेदले गर्दा घटेको बताए । घटना चानचुने नरहेको उनले बताए । उनले भने, ‘न्याय कहाँ छ ? के यो देशमा न्याय मरेकै हो त? न्यान सबैलाई एक समान हुनुपर्छ भन्दै उनले आक्रोश पोखे ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रुकुम घटना सभ्यता र लोकतन्त्रमाथि प्रहार भएको बताए । उनले भने, ‘मानवतामाथिको कलङ्क थियो । रुकुमको घटनामा न्याय हुनुपर्छ । यो अदण्डित हुन्छ भने विधिको शासन छैन ।’ अपराध नै नगरी जातीय विभेदका कारण बालकहरुको क्रुरतापूर्वक हत्या गरिएको उनले बताए । उनले भने, ‘रुकुम घटनामा न्याय भएन भने विधिको शासन, लोकतन्त्र र अदालत मर्नेछ । दोषी पुर्पक्षका लागि जेल बस्नै पर्छ ।’

नवराज विकका बावु मोहनलाल विकले केटीको आमा लक्ष्मी मल्ल एक लाख धरौटीमा छुटेको र अन्य दोषी पनि सामान्य तरिकाले छुटेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘यो कस्तो न्याय हो ? सर्वोच्चबाट न्याय पाउने आशा गरेका छौँ ।‘ गोविन्द शाहीकी आमा देवी शाहले राज्यले न्याय नदिएको भन्दै असन्तुष्टि पोखिन् । उनले भनिन्,‘हामी न्याय पाउन काठमाडौं आएका हौँ । न्याय नपाए र दोषीलाई कारवाही नभए हामी आन्दोलन गर्नेछौँ ।’ प्रहरी प्रशासनको कमजोरीका कारण शव ढिला पाएको उनले बताइन् ।

सञ्जिव विककी आमा सीता विकले कहाँ छ कानुन भन्दै प्रश्न औँल्याइन् । उनले भनिन्,‘हामी बाहुन क्षेत्री वा अन्य जात भएको भए न्याय पाउने थियौँ । तर, दलित भएको कारण न्याय पाएका छैनौँ । हामीले न्याय पाउँदैनौँ त ?’ लक्ष्मी सुनुवारले हत्या काण्डको दोषी कारवाही गर्ने माग गरिन् र मुख्य दोषी केटीलाई बालबालिका भनेर छोडेको बताइन् । उनले भनिन्, ‘त्यो केटीलाई सुधार केन्द्र राख्नुपर्छ । केटीकी आमालाई जेल हाल्नुपर्छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस