समाचार

चट्याङबाट मृत्यु भएका परिवारलाई रु एक-एक लाख सहयोग

saptari chatyang rahat

१८ पुस, काठमाडौं । सप्तरीमा चट्याङबाट मृत्यु भएका चार जनाको परिवारलाई राहतस्वरुप रु एक/एक लाख प्रदान गरिएको छ । प्रदेश नं २ सरकारले राहतस्वरुप रु एक/एक लाखका दरले मृतक चार जनाको परिवारलाई आज सहयोग उपलब्ध गराएको हो ।

राजविराजस्थित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहको सम्पर्क कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मृतक परिवारलाई जनही रु एक लाखको चेक हस्तान्तरण गरिएको हो ।

मन्त्री साहले सप्तरीको महादेवा गाउँपालिका–२ का २८ वर्षीय बेचन यादव र सोही ठाउँका ६० वर्षीय नकछेदी ठाकुर, डाक्नेश्वरी नगरपालिका–९ का ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय केसीलाल साहको परिवारलाई रु एक/एक लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

वर्षासँगै परेको चट्याङले गत असार ११ गते सप्तरीमा चार जनाको मृत्यु भएको थियो । घरमा गोसाइँ गाड्ने पूजाकर्मका लागि बुवाआमा र साथीसँगै कोशी नदी गएका बेचन यादव र कपाल काटन लगिएका हजाम नकछेदी ठाकुरको चट्याङ लागेर मृत्यु भएको थियो । बेचन महादेवा गाउँपालिकाका खरिदार थिए ।

यसैगरी लकडाउनका बेला विद्यालय बन्द भएपछि घर आएका उदयपुरको रानीवास खाँबुस्थित जनता माविका शिक्षक केसीलाल साहको धान रोप्ने खेतमा काम गर्न निक्लिएका बेला चट्याङ लागेर मृत्यु भएको थियो । खेतमा काम गरिरहेकी ललीतादेवी यादवको समेत सोही दिन चट्याङ लागेर मृत्यु भएको थियो ।

चट्याङ लागेर राजगढ गाउँपालिका–४ की २१ वर्षीया आशाकुमारी मण्डल र बेचनसँगै कोशी नदी गएका उनका साथी दीपक यादव घाइते भएका थिए । यसैगरी मन्त्री साहले आफू निर्वाचित सप्तरीको निर्वाचन क्षेत्र नं २ (क) अन्तर्गतको १५ विद्यालयलाई एक÷एक थान थर्मल गन उपलब्ध गराउनुभएको छ ।

कोरोना सङ्क्रमणको अवस्था अझै नटरिसकेकाले शिक्षक तथा विद्यार्थीको तापक्रम परीक्षण गर्न सामुदायिक विद्यालयलाई थर्मल गन सहयोगी सिद्ध हुने उनले विश्वास व्यक्त गरे । कार्यक्रममा प्रदेशसभा सदस्यद्वय विन्देश्वर यादव (विक्की), नेत्रविक्रम साह र जनता समाजवादी पार्टीका नेता, कार्यकर्ताको उपस्थिति थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस