समाचार

मिल मालिक पक्राउपछि उखुको पैसा दिने प्रतिबद्धता

ukhu kisan

१९ पुस, काठमाडौं । नवलपरासीको लुम्बिनी चिनी उद्योगले एक साताभित्रै आन्तरिक समस्या टुंग्याएर किसानको भुक्तानी सुरु गर्ने प्रतिबद्धता जनाएको छ । सरकारसँग भएको सम्झौताअनुरूप उसले पुस मसान्तअघि नै सम्पूर्ण किसानको भुक्तानी चुक्ता गरिसक्ने जनाएको छ ।

आन्तरिक समस्या एक साताभित्रै सल्टाएर किसानको भुक्तानी सुरु गर्ने लिखित प्रतिबद्धता जनाएपछि मिलका सञ्चालक मनोज अग्रवाल तारेखमा छुटेका छन् । अग्रवाल बिहीबार पर्साबाट पक्राउ परेका थिए। बिहीबार राति नै उनलाई नवलपरासी ल्याइएको थियो ।

दुई वर्षदेखि उखुको भुक्तानी नपाएका किसानले उद्योगका सञ्चालकविरुद्ध ठगी गरेको भन्दै मुद्दा हालेका थिए । सुनवल नगरपालिकाका उखु किसान ज्ञानचन्द्र यादव, जर्नादन यादव, वीरेन्द्रकुमार गुप्ता, हरिलाल गुप्ता, अर्जुन चौधरीलगायतका किसानले उद्योगका सञ्चालक सुशिला गोयल (अग्रवाल) बिरुद्ध पुस २ गते ठगी मुद्दा दर्ता गरेका थिए ।

मनीष अग्रवालको नाममा रहेको उद्योग उनको मृत्युपछि श्रीमती सुशिला गोयल अग्रवालको जिम्मामा गएको थियो । अशंबण्डा गर्दा उद्योग सुशिलाका देवर मनोज अग्रवालको भागमा परेकाले प्रहरीले सोही मुद्दामा मनोजलाई नियन्त्रणमा लिएर नवलपरासी ल्याएको हो । शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा उखु किसान, प्रहरी र प्रशासनबीच छलफल भयो ।

किसानहरूले उखुको भुक्तानी पुरा नगरेसम्म मिल चलाउन नदिने चेतावनी दिएका छन् । अग्रवालले उद्योगको नामसारी गरी लोन स्वीकृत गराउन एक सताको समय मागेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस