
१९ पुस, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले देशको सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ भने सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात भएको छ ।
तापक्रममा कमि भई चिसो रहि रहने हुनाले चिसोबाट बच्न तथा तराई / पहाडी भू-भागका केही स्थानहरुमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, राती देशभर आंशिकदेखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपातको साथै सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनि र गण्डकि प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।