२० पुस, काठमाडौं । कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी)ले संक्रमणको जोखिमका कारण बन्द गरिएका सबै क्षेत्र खुला गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । यद्यपि, यो निर्णय मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ । त्यसपछि चैतदेखि बन्द विद्यालय, मनोरञ्जनका क्षेत्रलगायत खुल्न बाँकी क्षेत्र खोल्न पाइनेछ। यसअघिका निर्णयहरूमा होटल व्यवसाय, यातायात, हवाई सेवालगायतका क्षेत्र खुला गरिए पनि शैक्षिक क्षेत्र, मनोरञ्जन, जिमखाना, पुस्तकालयलगायत क्षेत्र खुलाइएको थिएन ।
विद्यालयहरू चैतदेखि बन्द हुँदा विद्यार्थीको पढाइ करिब ९ महिना अन्योल भएको थियो । उपत्यकाका स्थानीय तहहरूले विद्यालय खुलाउन खोज्दा पनि जोखिमलाई ध्यानमा राखी रोक लगाइएको थियो । विद्यालय तथा अन्य मनोरञ्जनका क्षेत्रहरू खोल्न दिइने भए पनि कोरोनाको जोखिम बढे जिल्लाअन्तर्गतको जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई पुनः बन्द गर्न सक्ने अधिकार पनि दिइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।