
२० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूप्रति दिनदिनै आक्रामक अभिव्यक्ति दिन थालेका छन् । पुस ५ गतेयता नेकपामा ओली समूह र दाहाल–नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन् । चार दिनयता आफ्नो समूहका कार्यक्रमहरूमा ओलीले अधिकांश समय दाहाल–नेपाल समूहमाथि व्यंग्य गर्नमै खर्चिएका छन् । ओली दाहाल–नेपाल समूहलाई लक्षित गरेर कडा अभिव्यक्ति दिइरहँदा सो समूहले पनि सरकारविरुद्ध एकमहिने आन्दोलन घोषणा गरेको छ ।
दाहाल–नेपाल समूहले ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई प्रतिगमनतर्फ धकेलेको, ओली गणतन्त्र र संघीयताविरोधी भएको आरोप लगाएपछि जवाफ दिने क्रममा उनले आक्रामक अभिव्यक्ति दिन थालेका हुन् । दाहाल–नेपाल समूहले ओलीलाई व्यवस्थाविरोधी भन्दै प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमनतर्फ फर्कनु हो भन्दै आएको छ ।
यस आरोपको खण्डन गर्र्ने क्रममा आइतबार आफूनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले दाहालले कार्यकारी अधिकार पाएपछि पार्टीमा उपद्रो मच्चाएको टिप्पणी गरे । ‘मैले के कार्यकारी पद र अधिकार दिएको थिएँ, अत्यन्त उपद्रो मच्याउनुभयो । अहिलेलाई हटाएको छु तर अध्यक्ष भने कायमै राखेको छु । म उहाँलाई भन्न चाहन्छु अहिले पनि आउनुस्,’ ओलीले भने । उनले वरिष्ठ नेताहरूको पनि पद कायमै रहेको बताए ।प्रधानमन्त्री ओलीले शनिबार मात्रै काठमाडौं जिल्लाका कार्यकर्तासँग दाहाल–नेपाललाई भेट्नो कुहिएर झरेका दुई फल, खिया लागेका नटबोल्टु जस्ता शब्दले सम्बोधन गरेका थिए ।
आइतबार ओलीले दाहाल–नेपाललाई लक्षित गर्दै सहिद भएको भए श्रद्धाञ्जली दिनुहुन्थ्यो सम्म भन्न भ्याए । उनले प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि समेत व्यंग्य गरे । ‘श्रेष्ठलाई पार्टी प्रवक्ता तोकेको थिएँ, साह्रै बढी दुर्गन्ध फैलाउने काम गरे । त्यसकारण प्रवक्ताबाट हटाएको छु, सचिवालयमा भने यथावत् नै राखिएको छ,’ उनले भने । ओलीले सूर्य चिह्नआफ्नै समूहको हुने दाबीसमेत गरे । ‘चिन्ता नलिनुहोस्, सूर्य चिह्न हामीले नपाए कसले पाउँछ त ? सूर्य चिह्नअरूको हुँदैन,’ उनले भने ।
ओलीले दाहाल–नेपालप्रति लक्षित गर्दै कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न, नक्सा छापेको विरोध गर्न र सरकार विघटन गर्न खुमलटारदेखि अर्याल होटलसम्म षड्यन्त्रका बैठक गरेको आरोप लगाए । ‘मैले आज मात्रै रेकर्ड पल्टाउँदै थिएँ, वैशाख १३ देखि मंसिर ४ सम्म कहिले खुमलटार, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्ट कलेज, कहिले अँगेनोको डिल त कहिले बानेश्वरको अर्याल होटलमा उहाँहरूले ३ सय १५ वटा बैठक गर्नुभएछ,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले वैशाखमै चुनाव हुने कुरामा विश्वस्त पार्न खोज्दै कोहीकसैलाई भ्रममा नपर्न आग्रहसमेत गरे । उनले दाहाल–नेपाललाई पार्टीको बैठकमा आउन आग्रह गर्दै अपराधलाई माफी दिनेसमेत बताए । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।