
२० पुस, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजार स्थित सडक खण्डबाट आयुष थापा मगर र बालाजु स्थित सडक खण्डबाट रोशन लामिछाने सवार गरीरहेको मोटरसाईकलसहित आईतबार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।
नयाँबजार सडकखण्डबाट धादिङ्गको त्रिपुरासून्दरी गाउँपालिका वडा नं. ५ चैनपुर बस्ने वर्ष २२ को मगरलाई प्रदेश ३-०२-००८ प २६०७ नम्वरको मोटरसाईकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. लु ५२ प ७३३५ खुल्न आएको छ ।
उक्त नम्वरको मोटरसाईकल भदौ ६ गते काठमाडौं ठमेल स्थित भगवानबाहाल मन्दिर अगाडि पार्किङ्ग स्थलबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि कुमार राना मगरले निवेदन यस महाशाखामा दिएको थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाईएको महाशाखाले जनाएको छ ।
त्यस्तै, काठमाडौं बालाजु सडकखण्डबाट दोलखाको भिमेश्वनर नगरपालिका वडा नं. ३ भिमफेदी घर भई हाल रानिवन बस्ने वर्ष २४ का लामिछानेलाई बागमती प्रदेश ०२-०१७ प ३४४७ नम्वरको मोटरसाइकलसहित पक्राउ गरिएको हो ।
उक्त नम्वरको मोटरसाईकल मंसिर १४ गते बनस्थलीबाट हराएको थियो । महाशाखाले पौष महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ भने चोरीमा संलग्न ११ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाइसकेको छ ।