
२१ पुस, काठमाडौं । भक्तपुरमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु भएको छ । मंगलबार दिउँसो सवा १ बजे भक्तपुर नगरपालिका-२ इतापाकोमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।
घटनामा अर्का एक घाइते भएका छन् । करेन्ट लागेर दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।
बत्ति जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सिन्धुली कमलामाई नगरपालिका–११ घर भई हाल काठमाडौं बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तानको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिएका छन् ।
भक्तपुर नगरपालिकामा सडक बत्ती जडान गर्न बोलपत्र पारेको टप्सन इनर्जी सानो भर्याङ काठमाडौंको तर्फबाट काममा खटिएका कामदारले विद्युत्को सिमेन्टको पोलमा सडक बत्तीको मेटलको पोलसहितको बत्ती जडान गर्ने क्रममा पोलमै टाँगिएको नाङ्गो तारमा छुँदा करेन्ट लागेको उनको भनाई छ ।