
२२ पुस, काठमाडौं । कोरोना भाइरसबाट संसारकै दोस्रो सबैभन्दा बढि चपेटामा परेका भारतमा बर्ड फ्लू देखिएको छ । हालसम्म भारतको हिमाञ्चल, हरियाणा, राजस्थान, केरला र मध्यप्रदेशमा एचफाइभ एन वान एभिएन इन्फ्लुएन्जा भाइरस (बर्ड फ्लु) देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बर्ड फ्लूबाट जंगली र घरपालुवा दुवैथरीका पंक्षीहरु संक्रमित हुने भए पनि विशेषगरी घरपालुवा पंक्षीहरुका लागि बढी घातक मानिँदै आएको छ । बर्ड फ्लूको संक्रमण बढेपछि स्थानीय प्रशासनहरुले विभिन्न आदेश जारी गरेका छन् । सन् २००६ मा बर्ड फ्लुका कारण भारतले ठूलो नोक्सानी बेहोरेको थियो ।
भारतमा बर्ड फ्लू देखिएकाले नेपालले पनि सतर्कता अपनाउनु पर्ने बताइएको छ । खुला सीमाका कारण नेपालमा पनि बर्ड फ्लू भित्रन सक्ने जोखिमलाई ख्याल गर्दै सतर्कता अपनाउनु पर्नेमा जोड दिइएको छ । आप्रवासी चराहरुले पनि नेपालमा बर्ड फ्लू भित्र्याउन सक्ने जोखिम रहेको विज्ञहरुले जनाएका छन् ।