
२२ पुस, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य गगन थापाले संविधानसभाको अध्यक्षता गरेका सुवासचन्द्र नेम्वाङको मौनताप्रति आफूलाई दया लागेको बताएका छन् ।
नेम्वाङले अदालतमै उभिएर ‘’श्रीमान् प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो, मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन’ भनेर सन्दर्भसहित जमेर बहस गर्नुहुनेछ आफ्नो अपेक्षा रहेको भए पनि त्यस्तो हुन नसकेको थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘अपसोच उहाँ त कसैले केही सोध्लान् कि भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ । आफैंले बनाएको संविधानमा ‘कू’ हुँदैगर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरीहता’ देख्दा दया लागेको छ’,थापाले लेखेका छन् ।
संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न नसके पनि संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्ने विश्वास थापाको छ ।