२३ पुस, काठमाडौं । कोरोना भाइरस संक्रमण घटेको छ, टरेको छैन । तर, विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ । सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण गाउँ–गाउँसम्म पुग्ने चिन्ता जनस्वास्थ्यविद्ले गरेका छन् ।
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी कोठे बैठक, कार्यकर्ता भेला, ¥याली र आमसभालगायत कार्यक्रमले कोरोना संक्रमण बढाउने बताउँछन् । ‘पहिलो चरणमा लकडाउन र चाडपर्वमा भएका गतिविधिले संक्रमण बढायो’, डा.मरासिनी भन्छन्, ‘दोस्रो चरणमा राजनीतिक दलका गतिविधि र चुनावी माहोलले संक्रमण व्यापक रूपमा बढ्ने सम्भावना छ ।’
नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध सहरी क्षेत्र हुँदै गाउँ–गाउँसम्म प्रदर्शनको कार्यक्रम तय गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको विपक्षी कांग्रेसले पनि वडासम्म जाने कार्यक्रम बनाइसकेको छ । नेकपाको केपी शर्मा ओली पक्षधरले पनि भेलालगायत राजनीतिक कार्यक्रम अघि सारेको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले पनि विरोध प्रदर्शनलगायत कार्यक्रम गरिरहेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशकसमेत रहेका डा. मरासिनी होलीको आसपासमा संक्रमण व्यापक हुन सक्ने बताउँछन् । पहिलो चरणको कोरोना संक्रमण तिहारपछि न्यून हुन पुगेको हो ।
संक्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदीका अनुसार सुरक्षा मापदण्ड नपनाई विभिन्न कार्यक्रम गर्न लागिएकाले संक्रमणको जोखिम रहेको बताउँछन् । ‘खुला ठाउँमा नभई समूह जम्मा हुने र बन्द कोठा तथा हलमा कार्यक्रम गर्दा संक्रमणको जोखिम हुन्छ’, डा. सुवेदी भन्छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।