
२३ पुस, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले चोरीका माटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पीडित सहायता एकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले यहाँको सोह्रखुट्टेस्थित सडकबाट धादिङको नीलकण्ठ नगरपालिका–९ मुरलीभन्ज्याङ बस्ने राजन मगर र थाक्रे गाउँपालिका–१ देवीस्थानका राजन तामाङलाई आज पक्राउ गरेको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईका अनुसार उनीहरु चढेको बा९२प ७६३० नंको मोटरसाइकल नक्कली भएको पाइएको छ । मोटरसाइकलको वास्तविक नम्बर भने प्रदेश ३–०२–०१२प ९८३५ रहेको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए । उक्त मोटरसाइकल गत वर्ष पुसमा काठमाडौंको सोह्रखुट्टेस्थित सडकबाट हराएको थियो ।
पर्सा ठोरी गाउँपालिका–९ बस्ने पूर्णबहादुर थापाले दिएको निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी बृत्त लैनचौर पठाइएको महाशाखाले जनाएको छ । महाशाखाले चोरीको मोटरसाइकल खोजी अभियान तीव्र पारिरहेको छ ।