विश्व/प्रवास

जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकाल घोषणा

coronavirus in japan

२३ पुस, काठमाडौं । कोरोनाभाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा गरिएको छ । जापान सरकारले बिहीबार एक महिना लामो सङ्कटकाल घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री योशिहिडा सुगाले सङ्कटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि सङ्कटकाल लगाउनु परेको बताए ।

अहिले टोकियो क्षेत्रमा घोषणा गरिएको सङ्कटकाल शुक्रबारदेखि लागु हुने पनि जनाइएको छ । सङ्कटकाल अन्तर्गत रेस्टुरेन्ट र बारहरुमा बेलुका ७ बजेपछि मादक पदार्थ बिक्रि वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ । यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागु हुने अधिकारीहरुले बताएका छन् ।

प्रधानमन्त्री सुगाले बार तथा रेस्टुरेन्टमा नजान युवाहरुलाई विषेश अनुरोध गरेका छन् । टोकियोमा सङ्क्रमित भएकाहरूको उमेर अवस्था हेर्दा आधाभन्दा बढी तीन दशकभन्दा कम उमेरका भएको पाइएकाले पनि प्रधानमन्त्री सुगाले युवाहरुलाई विषेश आग्रह गरेका हुन् । “सरकारको आग्रहलाई कृपया पालना गरिदिनु होला, तपाईसँगै तपाईको बुवा आमा, हजुर बुवा हजुर आमा र साथीहरूको जीवन जोगाउनका लागि पनि यो आवश्यक छ,” उनले भने । सरकारले टोकियोमा सकेसम्म क्रेताले फोनबाट माग गर्ने र विक्रेताले उनीहरुले माग गरेको ठाउँमा पुर्याइदिने व्यवस्था हुनेगरी मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

जापानको राजधानी टोकियोमा दैनिक थप सङ्क्रमितको सङ्ख्या बढ्दै जाने क्रममा बिहीबार दुई हजार ४४८ जना थपिएका छन् । देशभरी सात हजार ४९० जना सङ्क्रमित थपिएको पनि अधिकारीहरूले जनाएका छन् । जापानमा अहिलेसम्म तीन हजार ७०० भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस