समाचार

खतरनाक ग्रिनिङ रोगले सुन्तलाका बोट धमाधम सुक्न थाले

orange tree

२५ पुस, काठमाडौं । सल्यानमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । उपचार नै नभएको ग्रिनिङ रोग फैलिन थालेपछि सुन्तलाका बगैँचासमेत खाली हुने अवस्थामा पुग्न थालेका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेका बागचौर नगरपालिका–८ मा रहेका अधिकांश कृषकका सुन्तलाका बोट सुक्न थालेका छन् । आम्दानीको राम्रो स्रोतको रुपमा रहेका सुन्तलाका बोट नै धमाधम सुक्न थालेपछि उनीहरुको व्यवसाय नै सङ्कटमा पर्न थालेको छ ।

पन्ध्र वर्ष अघिदेखि सुन्तला खेती गर्दै आएकी बागचौर नगरपालिका–८ कि कृषक पवित्रा योगीका अनुसार बगैँचामा सुन्तलाका बोटका हाँगा सुक्ने, फल नलाग्ने तथा लागेको फल पनि स्वस्थ्य नहुने समस्या देखिएको छ । “पोहोर साल रु १७ लाखभन्दा बढी मूल्यको सुन्तला बिक्री भएको हो तर यो वर्ष रु तीन लाख हुनु अवस्था छैन फलेको सुन्तला पनि अहिलेसम्म पाकेको छैन”, पवित्राले भनिन् ।

जिल्लाकै ठूला सुन्तला उत्पादन व्यवसाय गर्दै आएका भरतनाथ योगीका बगैँचामा समेत सुन्तलाका बोट सुक्न थालेका छन् । उत्पादन लिने समयमा बोट नै मर्न थालेपछि आफूहरु चिन्तित भएको कृषक भरतनाथ योगीले बताए । सिङ्गो गाउँमा नै व्यावसायिक सुन्तला खेती गर्दै आएका कृषक सुन्तलाका बोट नै सुक्न थालेपछि निराश हुन थालेको बागचौर नगरपालिका–८ का प्रकाश डाँगीले जानकारी दिए ।

सुन्तलाको क्यान्सरको रुपमा चिनिने यो रोग हावाका माध्यमबाट फैलिने भएकाले छिट्टै सुन्तलाका बोटमा समस्या देखिने कृषि विकास कार्र्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए ।

यो रोगका कारण सुन्तलाका हाँगा सुक्ने, जरा कुहिने तथा फलसमेत राम्रो र उत्पादन दिन नसक्ने भएकाले उत्पादन घट्ने कार्यालयको भनाइ छ । सल्यानमा एक हजार ५०० बढी हेक्टरमा सुन्तला खेती गरिँदै आएको छ । गत आर्थिक वर्षमा मात्रै सल्यानबाट १० हजार ६९० मेट्रिक टन सुन्तला निर्यात भएको कार्यालयले जनाएको छ । गत वर्ष जिल्लाबाट पाँच करोड ४० लाख बढीको सुन्तला निर्यात भएकामा यो वर्ष भने उत्पादनमा कमी आउने देखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस