
२६ पुस, काठमाडौं । नक्कली भ्याट बिल प्रयोग गरी राजस्व चुहावट गर्ने दुइवटा कम्पनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । सयपत्री इन्टरप्राइजेज र संकित जेनेर सप्लायर्सविरुद्ध मुद्दा दायर भएको हो ।
ती फर्मका संचालक, प्रोप्राईटर तथा मुख्य अभियुक्तबाट १ अर्व ३४ करोड ९५ लाख विगो असुल उपर गरी जरिवाना र कैद सजाय माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
बारा जिल्ला सिमरा पिपरा वडा नं.१ वस्ने न्यू सयपत्री ईन्टरप्राईजेज (स्थायी लेखानम्बर ६०२२९८६३८०) का प्रोप्राईटर विवेक मगर समेत १३ वटा फर्मका संचालक, प्रोप्राईटरहरु तथा मुख्य कारोवारी मनिष कुमार समेत १५ जनाबाट एक अर्व २२ करोड २० लाख १९ हजार ९९ रुपैयाँ विगो मागदावी लिई मुद्दा दायर गरेको हो ।
यस्तै राजस्व छलि गर्ने सर्लाही जिल्ला बलरा गाउँपालिका वडा नं २ बस्ने संकित जेनेरल सप्लायर्सका संचालक सुवोध शाहबाट १२ करोड ७५ लाख ५१ हजार ६१४ बिगो माग दावी लिई मुद्दा दायर गरेको आयोगले जनाएको छ ।