
२६, पुस, काठमाडौं । तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न माघ ७ (२० जनवरी) देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
आगामी जनवरी २० देखि फेब्रुअरी १० अर्थात् माघ ७ गतेदेखि २७ गतेसम्म नाका पूर्णरुपमा बन्द गरिने सूचना चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए । यद्यपि आधिकारिक सूचना भने आफुहरुले अहिलेसम्म पाइनसकेको खत्रीले बताए ।
आगामी जनवरी २० देखि २० दिनका लागि नाका बन्द गरिने भन्ने सूचना चिनियाँ पक्षबाट आएको छ । तर यो हामीले आधिकारिक रुपमा पाएको सूचना भने होइन’ भन्सार प्रमुख खत्रीले भने, ‘उताबाट व्यवसायीहरुलाई सामान लोड नगर्न भन्ने सूचना आएको रहेको छ । नेपाल–चीन बीचको मितेरी पुल मर्मत गर्नु पर्नाका कारण कम्तिमा २० दिन लाग्ने र सो समयसम्म नाका पूर्णरुपमा बन्द गरिने जानकारी गराइएको रहेछ । त्यसैका आधारमा हामीले थाहा पाएका हौं’ खत्रीले भने ।
त्यसो त तातोपानी नाका अन्तरगतको मितेरी पुल बर्खाको पानी, बाढि पहिरोले आंशिक रुपमा प्रभावित भएको थियो । सोही पुलको मर्मतका लागि अहिले चिनियाँ पक्षले काम गर्ने भएपछि केहि दिन नाका प्रभावित हुने भएको हो । हाल दैनिक रुपमा सो नाका हुँदै १५ देखि १८ वटा मालबाहक कन्टेनर नेपाल प्रवेश गर्दै आएका छन् ।