२६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न निर्देशन दिएको छ ।
आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो । बैठकका निर्णयबारे जानकारी दिँदै उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीका त्यस्ता कार्य तत्काल रोक्न चेतावनी दिएको जानकारी दिए ।
चार जना पूर्व प्रधानन्याधीशहरुले जिम्मेवारी नागरिकको हैसियतमा प्रतिनिधि सभा विघठनका बारेमा संवैधानिक व्यवस्थाका बारेमा संयुक्त वक्तव्य जारी गरेपछि प्रधानमन्त्री ओलीले अपमानित गर्ने र धम्क्याउने काम गरेको भन्दै नेकपाले आपत्ति जनाएको छ ।
पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले वक्तव्य संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताउँदै संयुक्त विज्ञप्ति जारी गरेपछि प्रधानमन्त्री ओलीले त्यसको विरोध गर्दै आएका छन् । उनले अदालत छाडेर सडकबाट फैसला गरेको भन्दै उनीहरुको कार्यक्षमता माथि नै प्रश्न उठाएका हुन् ।
प्रवक्ता श्रेष्ठले प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध न्यायाधीश, पत्रकार, वुद्धिजीवी, नागरिक समाज, पात्रकार लगायत आम सर्वसाधरणले पनि आफ्नो धारणा राख्दै आएको भन्दै विचार राख्न पाउने स्वतन्त्रता र संवैधानिक हकको सम्मान गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।