समाचार

पुँजीगत खर्च बढाउन पहल

MOFA

२७ पुस, काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहमा विनियोजन भएको पुँजीगत खर्च बढाउन पहल गरेको छ । आर्थिक वर्षको पहिलो ६ महिना बित्नै लाग्दासम्म अधिकांश पुँजीगत बजेट खर्च हुन नसकेपछि मन्त्रालयले पहल थालेको हो ।

साधारण भाषामा विकास खर्च भनिने यस्तो बजेट सरकारको कोषबाट खर्च नहुँदा स्थानीय स्तरमा विकास आयोजना बन्न नसक्ने र अपेक्षित रोजगारीसमेत नबढ्ने परिस्थिति बनेको छ । बजेटको अर्धवार्षिक समीक्षाअघि स्थानीय तहको खर्च बढाउन सके कोरोना महामारीबाट थलिएको अर्थतन्त्रमा आशाको उज्यालो भर्न सहयोग पुग्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बुझाइ छ । अहिले सरकार ‘राजनीतिक प्रतिरक्षा’मा उत्रिनु परेका बेला स्थानीय तहमार्फत खर्च बढाउन सके जनसमर्थन पाउनमा सजिलो हुने आशाले पनि अर्थमन्त्रीको ध्यान तानिएको हुन सक्ने स्थानीय तहका अधिकारी बताउँछन् ।

मन्त्रालयले भने स्थानीय तहमा पुगेको रकममध्ये १ खर्ब २६ अर्ब रुपैयाँ खर्च हुन नसकेको जनाएको छ । ‘अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्चेर स्थानीय तहमा विकासको लहर सिर्जना गर्न आग्रह गरेको’ अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित बैठकमा मन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहमा पुँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह गर्न अनुरोध गरेका हुन् ।

मन्त्री पौडेलले कोभिड–१९ बाट अति प्रभावित र जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि स्थानीय तहलाई आग्रह गरेका छन् । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमूलक बनाउने वातावरण सिर्जना गर्न पनि अर्थमन्त्रीले आग्रह गरेका छन् ।

यससँगै ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ को कामलाई प्रभावकारी रूपमा अघि बढाउन पनि अर्थमन्त्रीले पहल गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फेसहितको बैठकमा अर्थमन्त्री पौडेलले केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरी भूमिसम्बधी समस्या स्थायी रूपमा समाधान गर्न पहल गरेको मन्त्रालयले बताएको छ ।

आयोगले भूमि समस्या समाधानका लागि ४७ जिल्लाका १ सय ९३ स्थानीय तहसँग सम्झौता गरिसकेको छ । मन्त्री तुम्बाहाम्फेले बाँकी रहेका पालिकासँग सम्झौता गर्ने र आयोगको काम सुरु गर्ने तयारी भइरहेको बताइन् ।

आयोगको काममा स्थानीय तहमै केन्द्रित हुने भएकाले स्थानीय सरकारको विशेष सक्रियता जरुरी रहेको बताइन् । बैठकमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले समयतालिका बनाएर काम गर्दा बढी प्रभावकारी हुने बताए । गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहमै ‘फोकलपर्सन’ राखेर काम गर्न अनुरोध गरेका छन् । यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस