
२७ पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का दश जना वैज्ञानिक कोभिड–१९ को उत्पत्तिबारे अनुसन्धान गर्न बिहीबार चीन जाने भएका छन् । चीनले कोरोना भाइरसको अन्तर्राष्ट्रिय अनुसन्धान रोक्न खोजेको आरोप लागिरहेको बेला कोरोना महामारी फैलिएको एक वर्षपछि डब्लूएचओका वैज्ञानिकलाई चीन भ्रमणको अनुमति दिएको हो ।
कोरोना भाइरसको संक्रमणबाट विश्वलाई नै अत्याइरहेको अवस्थामा यसको अनुसन्धानका लागि चीनको अनुमतिको ठूलो राजनीतिक महत्त्व रहेको छ । कोभिड–१९ बाट हालसम्म २० लाखको हाराहारीका व्यक्तिको मृत्यु भइसकेको छ भने विश्व अर्थतन्त्रलाई तहसनहस बनाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्तिमा डब्लूएचओको टोलीले चिनियाँ वैज्ञानिकहरुसँग मिलेर कोभिड–१९ को उत्पत्तिका बारेमा संयुक्त अनुसन्धान गर्ने जनाइएको छ ।
यसै महिनाको सुरुमा पनि यस मिसनका बारेमा चीन र डब्लूएचओबीच असमझदारी उत्पन्न भएको थियो । डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले चीनले आफ्ना वैज्ञानिक टोलीको प्रवेशमा अवरोध गरेकामा आपत्ति जनाएका थिए ।